लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमूखी प्रतिभाका धनी थिए । कविता र निबन्धमा उनको योगदान उच्च मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिहरू लेखेका थिए । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।
देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए । उनी धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो । तर, उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो ।
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन पढाएर पैसा कमाउँछु ।’ तर उनी चाहिँ जन्मेदेखि नै रोगी थिए । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए ।
देवकोटा सन् १९६६ मा जन्मिँदा, देशमा राणाशासन थियो। राणाहरू चाहन्थे, ‘जनताहरूले शिक्षा नपाउन् ।’ तर, धेरै चोटिको प्रयत्नपछि देवकोटाको परिवारले उनलाई काठमाडौं उपत्यकाको एकमात्र विद्यालय दरबार हाइस्कूलमा भर्ना गरिदिए। देवकोटा दरबार हाइस्कूल नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । यसै क्रममा एकदिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए । सन् १९२५ मा देवकोटा त्रि–चन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भए। विज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरे। सन् १९२९मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१ मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून पढे ।
देवकोटा बहुमूखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, लामा बर्णनात्मक कविताहरू, निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू र समालोचनाहरू लेखे । कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रशंसायोग्य छन्। यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक बिक्री हुने कृतिमा पर्दछ । मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो । देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गरे। यिनी एकपटक नेपालको शिक्षा मन्त्रीसम्म भएका थिए। यिनकै पालामा त्रिभूवन विश्वविद्यालयको स्थापना भएको थियो।
देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्ने अद्वितीय प्रतिभा थियो। उनले शाकुन्तला महाकाब्य ३ महिनामा, सुलोचना महाकाव्य दश दिनमा र कुञ्जिनी एकै दिनमा लेखे। उनले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्याए। ‘मुनामदन’ प्रचलित लोक भाकामा लेखिएको कृतिले नेपाली साहित्यमा संस्कृतको प्रभाव अन्त्य गर्यो । ‘पागल’ कविता उनको अर्को महान कृति हो। जुन कवितामा उनले आफुलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाफ दिएका छन् ।
नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए। साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलूकमा पुर्याउने काम पनि देवकोटाबाट नै भएको थियो।
भारतीय महापण्डित डा। राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो व्यक्तित्वका रूपमा लिएको छु।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए । देवकोटा चौध भाषा बुझथे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत् जनमाझ पनि आए ।
देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो। उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए। बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे। उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो। लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए।
वि।सं। १९८७ र ८८ ताका जोगवीर सिंह, हरेकृष्ण श्रेष्ठ, बैकुण्ठप्रसाद श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, कृष्णप्रसाद खतिवडा, धर्मराज थपलिया, चित्तघर उपासकलगायत ४५र४६ जनाको प्रयासमा लाईब्रेरी खोल्न सहमतिको माग गरे। आखिर रामचन्द्र अधिकारीद्वारा राणा प्रधानमन्त्री भीमशमशेरलाई सूचना मिल्यो र रोक लगाई प्रत्येकलाई १० रूपैयाँ दण्ड गरियो र आधा रकम सूचना गर्ने रामचन्द्रलाई पुरस्कार दिइयो।
१५ वर्षको उमेरमा मनदेवी चालिसेसँग लक्ष्मीप्रसाद देवकोटाको विवाह भयो । वि।सं। १९८५ मा उनको पहिलो सन्तान छोरी सावित्री र १९८९ मा जेठो छोरा प्रकाश जन्मिए । माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्म वि।सं। १९९३ मा भएको थियो । कानूनमा स्नातकोपाधि हासिल गरेपछि उनी आफ्नो घर फर्के, जहाँ उनले विभिन्न व्यक्तिगत सङ्कटहरू भोग्नुपर्यो। दुई वर्षभित्रै उनका बुवा, आमा र दुई वर्षे छोरीको मृत्यु भयो । ती बियोगान्त घटनाहरूले उनलाई मर्माहत तुल्यायो र सायद यसैले उनलाई चुरोटको आदत बसायो । पछिल्ला वर्षहरूमा उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्युले उनलाई अझ दुःखी बनायो र यसले उनको मस्तिष्कलाई समेत चोट पुर्यायो । उनले केही समय मानसिक संस्थामा पनि बिताए ।
दुखमा दुख थपिएझैँ, देवकोटालाई वि.सं २०१५ मा क्यान्सर लागेको थाहा भयो। भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिएपछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो । उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले । एक वर्षपछि वि.सं २०१६ साल भाद्र २९ गतेका दिन उनको मृत्यु भयो ।