यस्तो छ अस्कर अवार्ड हात पार्ने फिल्मको इतिहास

   
बिम्ब
 
प्रकाशित मिति : २०७९ चैत्र २५, शनिबार १५:२०

यतिबेला ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ फिल्म चर्चामा छ । अमेरिकाको प्रख्यात अस्कर अवार्डमा यो फिल्मले विदेशी भाषाको उत्कृष्ट फिल्म विधामा पुरस्कार हात पारे यता धेरैको चासो यो फिल्ममा परेको छ ।

त्यसो त सोही नामको उपन्यास आएर बजारमा सन् १९३० को दशकमा नै बेस्टसेलर साबित भइसकेको थियो । प्रथम विश्वयुद्धको विभीषिका बयान गर्ने यो फिल्मलाई हलिउडले युद्धविरोधी फिल्मका रूपमा संसारभर प्रचार मात्र गरेन, यसलाई टेक्स्टबुकझैँ सबैतिर देखायो ।

एरिक मारिया रिमार्कीले लेखेको यो उपन्यास किन गतिलो छ भनेर कसैले सोध्यो भने त्यसको सरल उत्तर नै लेखक स्वयं एक सैनिकका रूपमा युद्धमा सहभागी भएकाले हो ।

यो उपन्यास जर्मनीमा पहिलो पटक स्थानीय अखबारमा प्रकाशित भएको थियो । १९२९ मा यो शृंखलाबद्ध अखबारी कथालाई उपन्यासका रूपमा प्रकाशित गरिएको थियो । यसको ठीक एक वर्षपछि द रोड ब्याक उपन्यासको अर्को भाग प्रकाशन भएको थियो ।

पुस्तकलाई नाजीहरूले जलाएका थिए भने पुस्तकलाई प्रतिबन्ध लगाएका थिए । २२ भाषामा यसलाई अनुवाद गरिएको थियो भने प्रकाशन भएको दुई वर्षभित्रै २५ लाख प्रति बिक्री भएर कीर्तिमान बनाएको थियो ।

१९३० मा यस पुस्तकलाई फिल्मका रूपमा बनाइएको थियो । १९७९ मा पुनः यसलाई टेलिभिजन फिल्मका रूपमा बनाइएको थियो ।

जर्मनीमा यो फिल्म रिलिज हुँदा सत्तामा हिटलर पुगिसकेको थियो । उसले प्रथम विश्वयुद्धमा आफूहरूमाथि ठूलो अन्याय भएको बताउँदै सर्वसाधारणलाई अर्को ठूलो युद्धका लागि तयार पारिरहेको थियो । यस्तो बेलामा युद्ध कति बेकार छ भन्ने सन्देश दिन हलिउडले हतार हतार फिल्म बनायो ।

जर्मनीमा यो फिल्म ५ डिसेम्बर १९३० मा रिलिज गरिएको थियो । हिटलर र उसको नाजी पार्टीले यो फिल्मलाई वाहियात भनेका थिए । फिल्म रिलिज भएको केही समयसम्म सरकारका कसैले पनि फिल्म हेर्न भ्याएका थिएनन्, मात्र उपन्यासको विषयवस्तुका कारण उनीहरूले फिल्मलाई गाली गरेका थिए ।

देशका लागि ज्यान दिनु गौरवको कुरा हो भनिरहेका नाजीहरूका लागि युद्धका लागि ज्यान दिनु बेवकुफी हो भन्ने बताउने उपन्यासलाई रूचाउने कुरै भएन । त्यसैले उनीहरूले यो उपन्यासलाई जर्मनीमा प्रतिबन्ध लगाएका थिए ।

तर फिल्म रिलिज भएको एक सातामा जब प्रपोगन्डा मन्त्री जोसेफ गोएबल्सले यो फिल्म सिनेमा हलमा गएर हेरे, उनले यो यहुदीहरूको फिल्म भएको आरोप लगाउँदै फिल्मलाई प्रतिबन्ध लगाए । यसको केही सातापछि फिल्ममा ज्यादै छाँटकाँटपछि चल्न दिइएको थियो तर फिल्मको आत्मा मरेको थियो ।

सन् १९५२ मा मात्र फिल्मले पूर्ण रूपमा पुनः सिनेमा हलमा मुख देखाउन पाएको थियो । यसरी अमेरिकी ब्लक, सिआइएले एउटा उपन्यासमाथि बनेको फिल्मलाई युद्धविरोधी प्रपोगन्डाका रूपमा राम्रैसँग दोहन गरेको थियो ।

यही उपन्यासमा आधारित यो फिल्मले यस पटक विदेशी भाषामा अस्कर अवार्ड हात पारेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित बिम्बहरु