देशैभरि फैलँदै डेंगु, बिरामीको संख्या १० हजार नाघ्यो

   
बिम्ब
 
प्रकाशित मिति : २०८० श्रावण २४, बुधबार १७:३३

डेंगु देशैभरि फैलँदै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज (बुधबार) सार्वजनिक गरेको तथ्याङ्कमा देशभरि १० हजार ७२६ जना डेंगुका बिरामी देखिएका छन् । ७४ जिल्लामा डेंगु फैलिएको छ ।

महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेंगु फैलिइरहेको बताए। उनले यसैगरी डेंगु फैलँदै जाने हो भने भदौ र असोजमा अत्यधिक हुने बताए । सन् २०२२ मा देशभरि ५४ हजार ७८४ जना डेंगुका बिरामी र तीमध्ये ८८ जनाको मृत्यु भएको थियो ।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ‚ जुन लार्भा वयस्क भएर टोकेपछि डेंगु लाग्छ। यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा ८ हजार १०९ जना, बागमती प्रदेशमा १ हजार ४५३ जना, गण्डकी प्रदेशमा ४७१ जना‚ सुदूरपश्चिम प्रदेशमा ३९३ जना, लुम्बिनी प्रदेशमा २१५ जना, मधेश प्रदेशमा ५७ जना र कर्णाली प्रदेशमा २८ जना डेंगुका बिरामी छन्  ।

नयाँ देखिएका बिरामीमध्ये ९ हजार ६१२ जना ९८९ दशमलव ६ प्रतिशत० बिरामी १० जिल्लाका छन् ।  सुनसरीपछि मोरङ १ हजार ३४४, धादिङ १ हजार २७ जना, कास्की २२५ जना, धनकुटा २२३, दार्चुला १९२ जना, झापा १८२, काठमाडौँ १५१ जना‚ सङ्खुवासभा १४८ जना र तनहुँमा ७९ जना डेंगुका बिरामी भेटिएका छन्। नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो ।

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित बिम्बहरु